Forum

अब सामुहिक लगानीमा जोड दिन्छौं दे

Posted by: cksherpa
04/30/2010
 


बिगत ३६ बर्षदेखि जापानमा बसोबास गर्दै आएका मुस्ताङका देवमान हिराचन गैरआवासीय नेपाली संघको अध्यक्ष चुनिनु भएको छ । हालै काठमाण्डौमा सम्पन्न चौथो विश्वसम्मेलनबाट सर्वसम्मत अध्यक्ष चयन भएपछि उहांको काँधमा एनआरएन अभियानलाई संस्थागत गर्ने जिम्मेवारी आएको छ । सम्मेलन सकिएलगत्तै सबै देशका प्रतिनिधि स्देश फर्कन ब्यस्त रहे पनि हिराचन भने एनआरएनका एजेण्डाबारे राजनीतिक नेतृत्वलाई जानकारी गराउने दौडधुपमा हुनुहुन्थ्यो । एनआरएन गतिविधि र एनआरएनको भविष्यबारे नेपालीखबरका लागि धर्मराज भुसालले काठमाडौमा गरेको कुराकानीको संक्षेप ।एनआरएनको अध्यक्ष चयन भइसकेपछि तपाईका एजेण्डा र प्राथमिकता के के हुन् ? 
सबैभन्दा पहिलो काम हामीले गैरआवासीय नेपाली संघ दर्ता गर्नुपर्नेछ । संघ दर्ता नगरी हामीले बैधानिकरुपले नेपालमा लगानी लगायतका काम गर्न सक्दैनौं । त्यसपछि गैरआवासीय नेपालीलाई दिने भनिएको दश बर्षे परिचयपत्र प्रदान गर्ने विषयमा हामीले पहल गर्नेछौं । दोहोरो नागरिकता दिनुअघि यस्तो परिचयपत्रले हामीहरुलाई नेपालमा लगानी गर्न, सम्पत्ति राख्न अधिकार प्रदान गर्नेछ । विश्वभर रहेका एनआरएन राष्ट्रिय समन्वय समिति र नेपाल सरकारबीच समन्वयको काम गर्ने पनि हामीले लक्ष्य लिएका छौं । त्यस्तै दोहोरो नागरिकताको व्यवस्था आगामी संविधानमा राख्नलाई प्राविधिक र राजनीतिक तहमा पनि कुरा गरिरहेका छौं, त्यो पनि हाम्रो मुख्य प्राथमिकतामा पर्नेछ ।
नेतृत्व परिवर्तन भएपछि एनआरएनका प्राथमिकता र नीतिमा परिवर्तन हुन्छ ? 
नेतृत्व परिवर्तन हुँदैमा एनआरएनको मूल उद्देश्य र प्राथमिकतामा कुनै परिवर्तन हुँदैन र भएको छैन । तर, हिजोको र आजको स्थितिमा आएको परिवर्तनसंगै प्राथमिकता परिवर्तन हुनु स्वभाविकै हो ।
तपाईहरुले सुरुमा लगानीको वातावरणको कुरा गर्नुहुथ्यो, अहिले आएर फेरि दोहोरो नागरिकताको विषयलाई जोड दिइरहनुभएको छ । दोहोरो नागरिकता नै चाहिन्छ भन्नुमा तर्क के हो ?
हामीले कहिल्यै पनि आर्थिक लगानीको मात्र कुरा गरेका छैनौं । विदेशमा सिकेको ज्ञान र सीपको लगानीको कुरा पनि आउँछ । तर, नेपालका मिडियाहरुले नै एनआरएन भन्नासाथ आर्थिक लगानीको कुरासँग जोडिदिए र कन्सेप्ट नै त्यस्तो बस्न गयो । हामीले गर्ने भनेको लगानी आर्थिक भन्दापनि सीप र दक्षता हो ।
दोहोरो नागरिकताको सन्दर्भमा हाम्रो माग तत्कालको फाइदाका लागि हैन । अहिलेको अवस्थामा त धेरैवटा देशमा दोहोरो नागरिकता लिन पनि मिल्दैन र अधिकांश गैरआवासीय नेपालीलाई त्यो जरुरी पनि छैन । तर अबको तीस/चालीस वर्षपछि अर्को पुस्ताका पालामा उनीहरुको नेपालसँगको नाता के हुने ? उनीहरुले म नेपाली हुँ भन्ने आधार पाउन् भनेर मात्रै सम्मानका लागि नागरिकता दिउँ भन्ने माग हो । त्यस्तो नागरिकता पाउने नागरिकले राजनीतिक अधिकार पाउँदैन केबल परिचयपत्रजस्तो मात्रै हो, जसले गर्दा नेपाल बाहिर हुर्किएको अर्को पुस्ताको नेपालीलाई पनि नेपाल आउन र लगानी गर्न बाटो खुला होस् । आखिर यसबाट घाटा कसलाई छ र ?
तपाईले त राजनीतिक र प्राविधिक तहमा पनि नेपाली अधिकारीसंग कुरा गरिरहनुभएको छ । दोहोरो नागरिकता दिँदाका अप्ठ्यारा केही बताएका छन उनीहरुले ? 
मैले यसपटक पनि कानुनमन्त्री र सचिवसँग दोहोरो नागरिकता कसरी दिने र त्यसका सीमितता के हुने भन्ने विषयमा कुराकानी गरें । उहाँहरु यसमा स्पष्ट हुनुहुन्छ, प्राविधिकरुपमा कुनै समस्या छैन । यो प्राविधिक भन्दा पनि राजनीतिक कुरा भएकाले राजनीतिक तहबाटै सुल्झाउनुपर्छ । कतिपय नेताहरुलाई दोहोरो नागरिकता दिंदा भारतसंगको खुला सीमानका कारण समस्या पर्छ कि भन्ने डर पाइयो । तर, हामीले एनआरएनको परिभाषामै सार्क मुलुक बाहिर बसोबास गरिरहेका नागरिकलाई मात्र एनआरएन मान्ने भनेकाले त्यो समस्या आउँदैन । भारतले पनि दोहोरो नागरिकता दिएको छ, तर नेपालमा बस्ने भारतीय नागरिकले त पाएका छैनन् नि ।
नेपाली नागरिकले जस्तो राजनीतिक अधिकार नपाउने भए अहिले सरकारले दिने भनेको परिचय पत्र नै पर्याप्त छैन र ?
परिचयपत्र केबल दश वर्षका लागि दिइन्छ र यसलाई नवीकरण गरिरहनुपर्छ । हाम्रो भनाइ त्यसमा लगानी गर्ने अधिकारलगायतका केही सीमितता छन् । परिचयपत्र भनेको केबल नेपाल आउने दश वर्षे एकमुष्ट भिसामात्र हो । तर, नागरिकता भयो भने उसको जीवनपर्यन्त र उसका सन्ततीले पनि त्यसको अधिकार पाउने भए । हामी पहिलो पुस्तालाई त परिचय पत्र वा दोहोरा नागरिकता भएपनि नभएपनि केही फरक पर्दैन । किनकि हामी नेपालमै जन्मियौं, हुर्कियौं र नेपाललाई बिर्सन सक्दैनौं । तर, भोलिको पुस्तालाई पनि नेपालसँग जोडिइरहने उपाय हो दोहोरो नागरिकता ।
दोहोरो नागरिकताको अभावमा तपाईहरुले भन्ने गरेजस्तै गैरआवासीय नेपालीलाई पूँजी र सीप लगानी गर्न कहाँनेर बाधा पुगेको छ ? 
अहिले बेलायतको आवासीय भिसा पाएर जाने नेपालीहरुलाई नै हेरौं न । उनीहरु त्यहाँ जाँदा नेपाली नागरिकता त्यागेर जानुपर्ने अवस्था छ । त्यसले गर्दा उनीहरु नेपालमा लगानी गर्न मात्र हैन, आवात जावत गर्न पनि भिसा लिनुपर्ने अवस्था छ । यसले नेपालीहरुको नेपालसंगको नातालाई कमजोर बनाउँछ । विदेशमा जहाँ रहेपनि म नेपाली हुँ भन्ने परिचय दिउँ भन्ने हाम्रो आशय हो । कुनैपनि नेपालीले आफु जन्मेको देशमा म केही गर्छु भनेर आउँछ भने किन उसलाई निरुत्साहित गर्ने ?
पुँजी लगानीका सबालमा पनि एनआरएनको नेतृत्वले धेरै कुरा गर्‍यो तर अहिलेसम्म सामुहिक लगानी आउन सकेको छैन ? सामुहिक लगानीका ठूला परियोजनाहरु संचालन गर्नुको साटो व्यक्तिगत लगानीमा मात्र किन जोड दिइएको हो ? 
तपाईले उठाउनुभएको प्रश्न सही हो । गैर आवासीय नेपालीले ब्यक्तिगत लगानी गर्ने भन्दा पनि ठूला परियोजनामा सामुहिक लगानी जुटाउने लक्ष्य नै हो । तर त्यसका लागि मुख्य बाधक के हो भने गैरआवासीय नेपाली संघ अहिलेसम्म नेपालमा दर्ता हुन सकेको छैन् । जसले गर्दा हामी गैरआवासीय नेपालीका नाममा कम्पनी खडा गरेर सेयर आह्वान गर्न सक्दैनौं । सरकारले भर्खरै गैरआवासीय नेपालीसम्वन्धी ऐन तथा नियमावली जारी गरेकाले अब सामुहिक लगानीका लागि बाटो खुला हुँदैछ । अहिलेसम्म लगानीको वातावरण नहुँदा पनि ब्यक्तिगत रुपमा गैरआवासीय नेपालीहरुले तीन सय मिलियनजति नेपालमा लगानी गरेका छन् ।
नाफामूलक क्षेत्रमा सुटुक्क एक्लै लगानी गर्ने तर मुलुकको हितका लागि ठूला क्षेत्रमा लगानी गर्ने कुरा आउँदा वातावरण भएन भनिदिने । के अब तपाईहरुको अग्रसरतामा सुरु हुने ठूला साना परियोजनामा खाडी वा मलेसियामा रहेर सामान्य आयआर्जन गर्नेले पनि आफ्नो हैसियत अनुसार सेयर खरिद गर्न सक्छ ?
हाम्रो सोंच नै त्यही हो । व्यक्तिगत ढंगबाट लगानी त जसले जहाँ पनि गर्न सक्छ त्यसका लागि त किन वातावरणको कुरा उठाउनुपर्‍यो र ? गैरआवासीय नेपाली संघको अग्रसरतामा ठूला परियोजना संचालन गरियो भने विश्वभर रहेका नेपालीले आफ्नो गच्छेअनुसार सेयर खरिद गर्नेछन र पूँजी अभाव हुनेछैन भन्ने हाम्रो बुझाइ हो । त्यसका लागि अघि मैले भनेका केही जटिलता थिए । अब त्यस्तो हुँदैन् । सामुहिक लगानीबाट ठूला परियोजना संचालन गर्ने मेरो कार्यकालको प्रमुख लक्ष्य हो ।
चौथो विश्व सम्मेलनबाट एनआरएनमा पनि राजनीति हावी भयो र आन्तरिकरुपमा एनआरएन विभाजित भयो भन्ने टिप्पणी गरिन्छ । तपाईले यसलाई कसरी सम्हाल्नुहुन्छ ? 
सहमतिबाट नेतृत्व चयन गर्ने जुन विधि हामीले अपनायौं त्यसले पनि स्पष्ट पार्छ कि एनआरएनमा कुनै विभाजन र विवाद छैन् । अध्यक्षका उम्मेदवार तिनै जना सहमतिबाटै नेतृत्व चुन्न सुरुदेखिनै सहमत थियौं । बाहिरतिर हल्ला र टिप्पणीमात्र बढी भयो, तर त्यस्तो स्थितिभित्र थिएन । आगामी दिनमा पनि हामी एकतावद्ध भएर अघि बढ्छौं । नेतृत्व मेरो भएपनि एनआरएन सामुहिक भावनाले अघि बढ्छ ।
अन्त्यमा प्रवासी नेपाली दाजुभाईहरुलाई तपाईको सन्देश के छ ? 
विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई पनि मेरो आग्रह के छ भने हाम्रो मुलुक धनी नभएसम्म हामी धनी बन्न सक्दैनौं र शीर ठाडो बनाएर विदेशीसामु हिँड्न सक्दैनौं । यो कुरा विश्वभरका नेपालीहरुले बुझ्नु भएको छ । चौथो बिश्व सम्मेलनअघि मलेसियामै भएको एसिया प्यासिफिकस्तरीय सम्मेलनका दौरान एक कल्याणकारी कोष खडा भएको छ र एनआरएनकै पहलमा करिव बीस हजार डलर जम्मा भएको छ । विभिन्न मुलुकमा श्रम गरेर देशको अर्थतन्त्र धानीरहनुभएका सबै श्रमिक दाजुभाईप्रति एनआरएन त्यतिकै जवाफदेही र जिम्मेबार रहेको जानकारी गराउन चाहान्छु ।
(अमेरिका तथा मलेसियाबाट प्रकाशित नेपाली खबर साप्ताहिकमा प्रकाशित
Views: 2286, Replies: 0      Post reply

 
web counter