Forum

नेपालीले चाहे असम्भव भन्ने केही छ

Posted by: cksherpa
03/19/2010
 
नेपालीले चाहे असम्भव भन्ने केही छैन

Published on 2009-12-19




वाङ्छु शेर्पा नेपाली पर्यटन एवं पर्वतारोहणको क्षेत्रमा परिचित नाम हो । सोलुखुम्बुको टाप्टिङ गाउँ विकास समितिको च्याङ्वामा जन्मेर नेपाल र नेपालीको नाम विश्वभर चिनाउने काममा उहाँको अग्रणी भूमिका रहेको छ । समाजसेवामा पनि उत्तिकै समर्पित शेर्पा काम गरेर कहिल्यै नथाक्ने व्यक्तिका रुपमा चिनिनु हुन्छ । गाउँघरमा बाटो खानेपानी बिजुली विद्यालय सञ्चालन देखि सरकारी ठूला अभियानहरुमा समेत उहाँको उत्तिकै योगदान रहेको छ । हालै सम्पन्न कालापत्थर मन्त्रिपरिषद्को बैठकदेखि कोपन हेगन विश्व जलवायु सम्मेलनसम्म वाङ्छुलाई अग्रभागमा देखिएको सबैले बताएका छन् । हिमाल संरक्षणका लागि सरकार पर्यटन व्यवसायी र सर्वसाधारणको उत्तिकै भूमिका हुने शेर्पाको भनाई छ । प्रस्तुत छ जलवायु सम्मेलन र यसैको सेरोफेरोमा युवा व्यवसायी एवं समाजसेवी शेर्पासँग गरिएको कुराकानीको संक्षिप्त अंश

० तपाई पर्वतारोहण क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?

- म यो क्षेत्रमा सन् १९८४देखि प्रवेश गरेको हुँ । सुरुमा पर्वतारोहण टोलीको सहयोगीका रुपमा म यो पेशामा लागेको हुँ । यसै वर्ष मैले ६५०० मी। उचाईका हिमाल आरोहण गरें । यो लगत्तै १९८५ मा जापानी टेलिभिजन कर्मीको आरोहणदलमा सहभागी भई त्यो भन्दा माथिल्लो उचाईमा जाने मौका पाएँ ।

० सगरमाथा चाहिँ कहिले चढ्नु भयो  ?

-सन् १९९३ मा म पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेको हुँ । त्यसको दुईवर्षपछि पुनः सगरमाथा चढें । मैले थुप्रै हिमालहरु चढेको छु । पाकिस्तान अमेरिका स्वीडेन जापान र चीनका हिमश्रृंखलासमेत मैले चढेको छु ।

० तपाई अधिकांश समय समाजसेवामा लगाउनु हुन्छ तपाई व्यवसायी हो कि समाजसेवी ?

-म वास्तवमा समाजसेवी हुँ । समाज र राष्ट्रका लागि केही गरौं भन्ने भावना ममा छ । कुनै न कुनै हिसावले नेपाल रनेपालीको बारेमा विश्वलाई जानकारी दिईरहुँजस्तो लाग्छ । जहाँसम्म व्यवसायको कुरा छ त्यो पनि आवश्यक नै हुन्छ । घर व्यवहार चलाउन व्यवसाय आवश्यक रहे पनि मलाई जतिखेर पनि समाजलाई केही नयाँ काम गरेर देखाउँ जस्तो लाग्छ ।

० तपाई कतिवटा संस्थामा आवद्ध हुनुहुन्छ ?

- म झण्डै एकदर्जन संघ संस्थाहरुमा आवद्ध छु । जिल्लास्तरका थुप्रै संस्थाहरुलाई मैले सघाईरहेको छु । अहिले व्यवसायिक रुपले म सगरमाथा आरोही संघको अध्यक्ष हुँ । मेरो काम सगरमाथाको संरक्षण र आरोहीहरुको हकहितका पक्षमा बोल्नु हो । स्वदेशी एवं विदेशीहरुसँग हिमाल बचाउने र पर्यटन बढाउने काममा म सँधै लागिरहन्छु ।

० तपाईले वातावरण र पर्यटनका क्षेत्रमा के के भूमिका खेल्नु भयो त  ?

- मैले सुरुदेखि नै आरोहीहरुको हकहितका पक्षमा आवाज उठाउँदै आएको छु । पर्वतारोहणका क्रममा आरोही संघले पनि महत्वपूर्ण भूमिका लिने क्रममा हामीले काम गर् यौं । आरोहणका क्रममा घाइते एवं अङ्गभङ्ग भएकाहरुको राहतका लागि पनि विभिन्न निकायमार्फत राहत कार्यक्रम ल्याउन सफल भएका छौं । मुख्य कुरा वातावरण र हिमाल बचाउने कुरा यसमा म निकै दत्तचित्त भएर लागेको छु । जस्तो कि हालै सम्पन्न कालापत्थर मन्त्रिपरिषद्को बैठक र कोपन हेगनमा आरोही संघले गरेको प्रदर्शन । मैले कालापत्थर बैठकका लागि आवश्यक सहयोग जुटाउन पर्यटन व्यवसायसँग सम्बन्धित व्यक्तिहरुलाई संयोजन गर्ने काम गरें । सबै साथीहरु उत्साहका साथ लाग्नु भयो । फलस्वरुप राष्ट्र व्यवसायी र जनताको इच्छा अनुसारको अभियान सफल पनि भयो । हिमाल बचाउ अभियानका लागि विश्वको ध्यान आकृष्ट गर्न नेपाल सफल भयो । नेपालीले चाहे सबै काम गर्न सकिन्छ भन्ने उदाहरण यो पनि हो ।  

सुरुमा असम्भव भनिएको कालापत्थर बैठकलाई हामी सबै मिली सम्भव बनायौं यसमा सबैको उत्तिकै सहयोग छ । यो राष्ट्रिय अभियान सफल भएकोमा म अति खुसी पनि भएको छु । त्यस्तै कोपन हेगनमा समेत हामीले हिमाल जोगाऔं भन्ने नाराका साथ प्रदर्शन गरेका थियौं । यसले पनि विदेशीहरुको ध्यान आकृष्ट गर्न अझै बल पुग्यो ।

० नेपालको पर्यटन व्यवसायको भविष्य कस्तो छ ?

- सामान्यतः प्राकृतिक हिसावले यहाँको पर्यटन सम्भाव्यता विश्वका सबै मुलुकभन्दा बढी छ । तर पनि पछिल्ला दिनहरुमा हुने गरेको बन्द हड्ताल र असुरक्षाका कारण ठूलो प्रश्नचिन्ह खडा भएको छ । त्यस्तै वातावरण बिनाश र प्रदुषणले पनि पर्यटन प्रभावित भएको छ । यसले देशको पर्यटकीय छवि नराम्रोसँग बिगि्रएको छ । त्यसैले प्राकृतिक रुपमा राम्रो हुँदाहुँदै पनि मानवीय एवं राजनीतिक अस्थिरताका कारण भविष्य अन्यौलमुक्त भने छैन । हामी सबै मिली शान्ति सुरक्षा र वातावरणीय संरक्षणका साथ अघि बढ्यौं भने नेपालको पर्यटकीय सम्भाव्यता निकै बढेर जानेमा दुईमत छैन ।

० राजनीतिप्रति तपाईको धारणा के छ  ?

- म देशलाई सही गति दिन सही राजनीति आवश्यक छ भन्ने पक्षमा छु । तर सँधैंको बन्द हड्ताल जुलुस चक्काजामले गर्दा सबै व्यवसाय चौपट भएको छ । यस्तो अवस्थाको अन्त्य गर्न म सबैसँग आग्रह गर्छु हामी मिलेर गयौं भने केही वर्षमै नेपाललाई स्वीट्जरल्याण्डको स्तरमा पुर् याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

० अन्त्यमा तपाईका भावी योजना के छन्  ?

- म पर्यटनवर्ष २०११ सफल बनाउने अभियानमा छु । त्यस्तै हिमाल संरक्षणका लागि पनि म अगाडि बढ्दै छु । हिमाल रहे नेपाल रहन्छ हिमाल नरहे नेपाल र नेपालीको भविष्य अन्धकार छ । त्यसैले पनि यसको बचाउका लागि सबै पक्षसँग मैले हारगुहार गरेको छु । छिट्टै सगरमाथामा रहेको फोहोर हटाउने अभियानमा म लाग्दैछु । सन् २०११ सम्ममा सगरमाथा क्षेत्रमा रहेको सबै फोहोर हटाउनुपर्छ भन्ने दृढ संकल्पका साथ म अघि बढेको छु । यसका लागि नेपाल सरकार व्यवसायी र सर्वसाधारणको उत्तिकै सहयोग आवश्यक पनि छ ।

Views: 2485, Replies: 0      Post reply